प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन:स्थापना भएको कारण देश अस्थिरता तर्फ धकेलिने बताएका छन्। ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न मुद्दा हालेर संसद् पुनःस्थापना गरिएको बताएका हुन्।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चुनावमा गएर राम्रो सरकार बनाउनु पर्ने अवस्थामा संसद पुनःस्थापना गरेर देशमा अस्थिरता निम्त्याउन खोजीएको बताएका छन्। उनले भने,”अहिलेको समयमा त देश चुनावमा जान्थ्यो। चुनावपछि एउटा राम्रो सरकार बन्ने पक्का थियो तर त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोकियो। संसद पुनःस्थापना त उफ्रिन, नारा लगाउन, कराउन पो गरेका रैछन्।”
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर सोधेको कुरामा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्चलाई सोध्न आग्रह समेत गरेका छन्। ओलीले भने, “अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाउँ भनेर सोध्नु भएछ, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो भनेर !”

