काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ।
सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो। जससँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको नेकपा पनि खारेज भएको छ। त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो।
अब एमाले अलग, माओवादी अलग – प्रचण्ड-नेपाल समूह
प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच भएको छलफलमा अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेका हुन्।
सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्ने, पार्टीभित्र आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालिएको जनाइएको छ । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।