काठमाडौं । २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आउँदो जेठ १३ गतेदेखि संचालन हुने भएको छ। आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको एसईई परीक्षा यो वर्ष भने राष्ट्रिय परीक्षा बोर्डले नै संचालन गर्नेछ। गत वर्ष भने विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा प्रकाशन भएको थियो।
गत माघको २६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो। एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारलाई दिइएको भएता पनि कानुन अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ।

