कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको हो।

कोरोना माहामारीको कारण दुई महिना पछाडि धकेलिएको शैक्षिक सत्र जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय सरकारले गरिसकेको छ। परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए।

आगामी एसईई परीक्षा जेठ १३ गतेदेखि

काठमाडौं । २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आउँदो जेठ १३ गतेदेखि संचालन हुने भएको छ। आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको एसईई परीक्षा यो वर्ष भने राष्ट्रिय परीक्षा बोर्डले नै संचालन गर्नेछ। गत वर्ष भने  विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा प्रकाशन भएको थियो।

गत माघको २६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो। एसईई परीक्षाको  व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारलाई दिइएको भएता पनि कानुन अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१५:१५

नयाँ सरकार गठनबारे माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने