काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य लालबाबु पण्डितले अबको दुई वर्षसम्म पनि एमाले कै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अहिलेको सरकार बाहेक अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्नै नसक्ने बताएका हुन्। उनले भने,”यो सरकार पाँच वर्ष चल्छ। प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन”
सर्वोच्चले गरेको फैसलापछि ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी मध्ये प्रचण्ड नेतृत्वमा रहेको माओवादीले ओलीको सरकारलाई समर्थन गर्नु बाहेक कुनै विकल्प नरहेको बताउँदै उनले आवश्यक परेको खण्डमा अन्य दलहरुको पनि ओली सरकारको समर्थन गर्ने दाबी गरेका छन्। “माओवादी केन्द्रले ओलीको सरकारको समर्थन गर्नु बाहेक कुनै विकल्प नै छैन्, आवश्यक पर्यो भने प्रधानमन्त्रीज्यूले अन्य राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ,” उनले भने।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा एमालेका शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले एमालेलाई बलियो बनाउनेमा आफूले विश्वास गरेको पण्डितले बताए। उनले भने, ” प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ।”
उनले अब पार्टी भित्र कुनै पनि प्रकारको किचलो नहुने र अबका दिनमा पार्टी अझ बलियो र एकजुट हुने बताएका छन्। “आन्तरिक किचलो अब नेकपा एमाले भित्र हुँदैन हिजो नेकपा हुँदा जे/जति किचलो थियो, त्यो अब त्यो हुँदैन। अब एमाले एक ढिक्का भएर अघि बढ्छ,” उनले भने।