च्याम्पियन्स लिगमा हालान्डले बनाए नयाँ कीर्तिमान !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले नयाँ कीर्तिमान बनाएका छन् ।

च्याम्पियन्स लिग अन्तरगत स्पेनिस क्लब सेभियाविरुद्धको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा दुई गोल गरेपछि हालान्डले नयाँ कीर्तिमान बनाएका हुन् । २० वर्षीय उनले च्याम्पियन्स लिगको १४ खेलमै २० गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान इंग्लिस क्लब टोटनहमका ह्यारी केनले २४ खेलमा २० गोल गर्दै राखेका थिए । हालान्डले केनको भन्दा १० खेल कम खेल्दै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

२० वर्ष २३१ दिनका हालान्ड च्याम्पियन्स लिगमा यो कीर्तिमान लेखाउने युवा खेलाडी समेत बनेका छन् । हालान्डले च्याम्पियन्स लिगको यो सिजन १० गाल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् ।

यस्तै हालान्डले नर्वेको खेलाडीबाट च्याम्पियन्स लिगमा बढी गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले हाल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरको १९ गोललाई पछि पारेका हुन् ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खेल २–२ गोलको बराबरीमा सकिएपनि समग्रमा ५–४ को जित निकाल्दै डर्टमुन्ड क्वाटरफाइनलमा पुग्न सफल भएको छ । डर्टमुन्ड पहिलो लेगमा ३–२ ले विजयी भएको थियो । उक्त खेलमा पनि हालान्डले दुई गोल र एक असिस्ट दिएका थिए ।

प्रकाशित : बुधबार, फागुन २६, २०७७०८:५४

रोनाल्डोले धोका दिए युभेन्टसलाई, लगातार दोस्रो वर्ष अन्तिम १६ बाटै बाहिरियो युभे !