काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा(एमाले)सँग मिलेर नेपाली कांग्रेस सरकारमा जान नहुने बताएका छन्। बुधबार झापामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले एमालेसँग नेपाली कांग्रेसले सत्ता साझेदारी गर्न नहुने बताएका हुन्।
नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नेक्रममा कोइरालाले प्रतिनिधि सभा विघटन गरेर संविधान माथि नै प्रहार गर्ने केपी शर्मा ओलीको पार्टीसँग सहकार्य गर्न नहुने बताए। नेता कोइरालाले संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेलमा पनि झापाली भन्दै ओली माथि व्यंग्य समेत गरे।
“प्रतिनिधि सभा पुन:स्थापना पछि संविधान त बाँच्यो, तर सदन चल्नसक्ने अवस्था छैन।”,उनले भने,”संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेलमा पनि झापाली नै लागे।”
नेता कोइरालाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसला पश्चात थप राजनीतिक जटिलता निम्तिएको बताए। देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प नभएको उनको भनाई छ।
“नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने,”संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।”
डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे ।
उनले कांग्रेसको १४ औंँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।

