झलनाथ खनालले स्वीकारे गल्ती, एमालेकै सरकार जोगाउने घोषणा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एमाले)का झलनाथ खनालले वर्तमान सरकार जोगाउने तर्फ आफूहरु लाग्ने बताएका छन्।

संसद बैठकमा सहभागी भएर फर्किने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेको नेतृत्वमा रहेको सरकार जोगाउने बाटोमा आफूहरु लाग्ने बताएका हुन्।

नेता खनालले नेकपा विभाजित हुनु दुर्भाग्य भएपनि अब एमालेकै नेतृत्वमा दुई वर्ष सरकार अगाडी बढ्ने बताए। विभिन्न खेल तथा आफूहरुकै गल्तिले पार्टी विभाजित हुन पुगेको उनको भनाई छ।

“हामी त अब फेरि एमाले भयौँ तीन वर्षपछि । नेकपा भएका थियौँ, विभाजन गरियो, यो दुर्भाग्य हो । एकीकृत पाटीलाई फेरि विभाजित गरियो । विभिन्न खेलहरु वा हाम्रै मिस्टेकले भए पनि यहाँ छौँ ।”,खनालले भने। देशका राजनीतिक दलले खेल खेल्ने ठाउँ संसद रहेको भन्दै खनालले अब नयाँ खेल शुरु हुने बताए।

“देशका राजनीतिक दलले खेल खेल्ने ठाउँ संसद हो । अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिद्धेह्य तपाईहरुले बिस्तारै देख्दै जानुहुनेछ । संसदले मुलुकलाई नयाँ दिशातर्फ लानुपर्छ । यो सरकार दुई वर्ष जानुपर्छ । सरकार चलाउने दायित्व नेकपा एमालेको हो । हामी सरकार जोगाउन लाग्छौं”,उनले भने,”अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।”

१४ सांसदको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेकोमा सर्वसम्मतिले पारित भएको हो ।

दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी आजका लागि बोलाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते अपराह्न १ बजे बस्ने भएको छ ।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१४:११

भोलि यी सडक बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह !