काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु माओवादी केन्द्रमा नफर्किने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठक पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै भट्टले आफूहरु माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको स्पष्ट पारेका हुन्।
बुधबार संसद् भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको अवस्थामा आफूहरु माओवादी केन्द्र फर्किने अवस्था नरहेको बताए।
संसद पद गए पनि आफूलाई फरक नपर्ने उनको भनाई छ। हाल त्यस सम्बन्धमा छलफल भइरहेको भन्दै मन्त्री भट्टले कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकालिने उनले बताए।
“हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । समर्थन फिर्ता लियो भनेपनि पार्टी (माओवादी केन्द्रमा) मा फर्किने सम्भावना मैले देख्दिन ।”,उनले भने,” सांसद पद गए जाओस् भन्ने बारेमा पछि पनि छलफल गर्दै छौं के हुन्छ । कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकाल्छौं ।”
त्यस्तै भट्टले पार्टी एकताको सम्भावनाहरुका बारेमा छलफल भइरहेको पनि बताएका छन्। एमाले र माओवादी पार्टी ब्युँतिएपछि उत्पन्न परिस्थितमा कसरी अगाडी बढ्ने भन्ने विषयमा लगातार छलफल भइरहेको उनको भनाई छ।
पार्टी एकता गरिएपछि आफूहरु केपी ओलीको पक्षमा उभिएको उल्लेख गर्दै नयाँ परिस्थिति सिर्जना भएपछि के गर्ने भन्ने विषयमा पूरा निर्णय गरिनसके भट्टले बताए।