एजेन्सी : यो कुरा सन् १९९९ को अन्तिम महिनाको हो। राकेश रोशनको फिल्म ‘कहो ना प्यार है’ निर्माण सकी रिलिजको लागि तयारी अवस्थामा थियो। यो फिल्मबाट उनी आफ्नो पुत्र ऋतिक रोशनलाई बलिउडमा लञ्च गर्दै थिए। हिरोइन अमीषा पटेलको पनि यो पहिलो फिल्म थियो। फिल्मको रिलिज डेटको प्लानिङ हुँदै थियो। राकेश रोशन यो फिल्म सन् २००० जनवरी १४ मा रिलिज गर्न चाहन्थे। उनको यो कुरालाई उनका नजिकका साथी तथा शुभचिन्तकले विरोध मात्र गरेनन् यसलाई आत्मघाती कदम भएको बताए। उनीहरुका अनुसार राकेशको यो निर्णयले ऋतिक रोशनको करियर बर्बाद हुन् सक्छ।
त्यस्तो भन्नुको पछाडीको कारण थियो आमिर खान र शाहरुख खान जस्ता सुपरस्टारको फिल्म। आमिर खानको फिल्म ‘मेला’ सन् २००० जनवरी ७ मा रिलिज हुने घोषणा भईसकेको थियो। मेला ठुलो लगानीमा बनेको फिल्म थियो। यसको निर्देशन धर्मेश दर्शनले गरेका थिए। धर्मेसको आमिर खानसँगको पछिल्लो फिल्म ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर साबित भएको थियो। मेलामा आमिरसँग उनका भाई फैजल खान पनि थिए। यसकारण आमिर यस फिल्ममा विशेष रुचि लिईरहेका थिए।
मेला रिलिज भएको ठिक दुई हप्ता पछि यानी २१ जनवरी सन् २००० मा शाहरुख खानको फिल्म ‘फिर भी दिल है हिन्दुस्तानी’ रिलिज हुँदै थियो। यसमा शाहरुखसँग जूही चावला थिईन्। निर्देशनको बागडोर अजीज मिर्जाको हातमा थियो। शाहरुख फिल्मको प्रोड्यूसर पनि थिए, यसकारण फिल्म उनको लागि अत्यन्तै महत्वपूर्ण थियो।
आमिर र शाहरुख जस्ता सुपरस्टार बीच राकेश रोशन नवोदित जोडीलाई लिएर बनाईएको फिल्म ‘कहो ना प्यार है’ रिलिज गर्दै थिए र यहीँ कुरा उनका नजिकका मानिसलाई ठिक लागेन। र तिनले बुझ्न सकिरहेका थिएनन् कि आखिर राकेश जानी-जानी किन आगोसँग खेल्न खोजिरहेका छन् ? किन दुई सुपरस्टार्सको फिल्म बीच स्याण्डविच बन्न लागिरहेका छन् ? मानिसमा आमिर र शाहरुखको क्रेज छ, ऋतिकको फिल्म किन हेर्नेछन् ?
यस्ता अनेक प्रश्न उठिरहेका थिए। तर राकेश रोशन अडिग रहे। आफ्नो निर्णयमा अटल रहे। उनले आफूले बनाएको फिल्म पूरा विश्वास थियो। ऋतिकको प्रतिभा र आफ्नो क्षमतामा पूरा भरोसा थियो।
अन्तत: आमिर र शाहरुख खानको फिल्म बीच फिल्म ‘कहो ना प्यार है’ रिलिज भयो। आमिरको मेला र शाहरुखको ‘फिर भी दिल है हिन्दुस्तानी’ फ्लप भयो जबकि ऋतिक रोशनको ‘कहो ना प्यार है’ सुपरहिट भयो। सुपरस्टार्सलाई एक नवोदित नायकले मात दिए। शताब्दी पनि परिवर्तन भएको थियो, यसकारण ऋतिकलाई नयाँ शताब्दीको नयाँ स्टार मान्न थालियो।