काठमाडौँ – बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ । कोरोना महामारीको असर कम हुँदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।
नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि हुँदा ७१ अर्ब कर्जा लगानी गरेका छन् । माघमा पनि निक्षेप ५ अर्बले मात्र बढ्दा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो ।
फागुन २१ गतेसम्म आउँदा बैंकहरूले कूल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्म बैंकहरूको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब र कर्जा ३३ खर्ब १७ अर्ब थियो ।
कोरोना महामारीका कारण लामो समय व्यवसाय विस्तार गर्न नपाएका बैंकहरुले पछिल्लो समय कर्जा प्रवाहलाई प्राथमिकता दिएका छन् । यस्तै कोभिडको प्रकोप कम भएसँगै आर्थिक गतिविधि पनि बढ्दै गएकाले कर्जाको माग बढेको बैंकरहरु बताउँछन् ।
तर, कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नभएपछि बैंकमा तरलताको चाप बढ्दै गएको छ । जसका कारण अन्तर बैंक ब्याजदर समेत बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बैंकहरुमा निक्षेप र कर्जा वृद्धिको अन्तरले बैंकहरुमा तरलता घट्दै गएको बताउँछन् । यसले बैंकको ब्याजदरमा दबाब सिर्जना गर्ने उनको भनाइ छ ।
पुसमा बैंकिङ प्रणालीमा २ खर्ब तरलता रहेकोमा अहिले ४० अर्ब रुपैयाँमा झरेको छ । तरलता कम हुँदै गएपछि अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत पुगेको छ । एक वर्षअघि ५ प्रतिशत हाराहारीमा पुगेको अन्तरबैंक ब्याजदर साउनमा ०.०१ प्रतिशतसम्म झरेको थियो । पछिल्लो एक महिनायता पुनः बढ्न थालेको ब्याजदर फागुन २५ गते २.९७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।