एजेन्सी – क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गए राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग १–१ गोलको बराबरी खेलेपनि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो। समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल रह्यो।

बुधबार राति भएको खेलमा पीएसजीका किलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काए । यस अगाडी प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना पीएसजीसँग ४-१ ले पराजित भएको थियो।
मेस्सी र क्रिस्टियानो दुवै आउट

बार्सिलोना युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएसँगै युइएफए च्याम्पियन्स लिगबाट मेस्सी र रोनाल्डो दुवै आउट भएका छन्। मंगलबार मात्रै इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको थियो। मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

बार्सिलोना र युभेन्टस दुवै बाहिरिएसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल मेस्सी-रोनाल्डो बिहिन हुने भएको छ। यस्तो सन् २००४-०५को सिजन पश्चात पहिलोपटक भएको हो। सन् २००४-०५ पश्चात च्याम्पियन्स लिगको क्वाटरफाइनलमा मेस्सी र रोनाल्डो मध्ये दुवै अथवा एक खेलाडीको उपस्थित रहने गरेको थियो।
बार्सिलोना १३ वर्ष पछि क्वाटरफाइनल नपुगी बाहिरियो

पीएसजीसँग हार्दै बाहिरिएपछि बार्सिलोना १३ वर्ष पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असमर्थ भएको छ। यस अगाडी बार्सिलोना सन् २००६-०७ को प्रि–क्वाटरफाइनलमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएपश्चात कुनै पनि सिजन प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थिएन।
एक युगको अन्त्य ?

मेस्सी र रोनाल्डो दुवैको ढल्किँदै गरेको उमेरसँगै यी दुईको युरोपियन फुटबलमा प्रभुत्व कम हुँदै गएको चर्चा हुन थालेको छ। यस्तो चर्चालाई दुवै प्रि–क्वाटरफाइनलबाट आउट भएसँगै थप बल पुगेको छ।

हालको अवस्थामा यी दुईको सम्भावित उत्तराधिकारीको रूपमा किलियन एम्बाप्पे र एर्लिङ ब्राउट हालाण्ड उदाएका छन्। एम्बाप्पे र हालाण्ड दुवैले मेस्सी र रोनाल्डोका उत्तराधिकारी बन्ने छनक देखाएका छन्।

एम्बाप्पेले बार्सिलोनालाई च्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलबाटै बिदा गर्न महत्वपूर्ण भूमिका खेल। उनले बार्सिलोना विरुद्ध समग्रमा ४ गोल गरे। त्यस्तै हालाण्डले पनि च्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलमै स्पेनिस क्लब सेभिया विरुद्ध ४ गोल गरे।

