बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमन बार्सिलोनाको सुधारिएको युवा टोलीले क्लब कप्तान लियोनल मेस्सीलाई यो सिजनपछि पनि बार्सामै रहन मनाउनेछ भन्ने आशामा छन्।

सिजनको अन्तिममा क्लबसँगको सम्झौता सकिने मेस्सीले सम्भवत क्लबका लागि गयराती अन्तिम युरोपियन खेल खेले, जसमा बार्सिलोना पीएसजीसँग समग्रमा ५-२ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै कोमनले भने, “मेस्सीले पनि देखिरहेका छन् कि हाम्रो टोली हामीले गरेको परिवर्तनका साथै उत्कृष्ट हुँदै गएको छ। हामीसँग थुप्रै उत्कृष्ट गुण भएका युवा खेलाडी छन् जसको भविष्य उज्ज्वल देखिन्छ। त्यसैले यो टोलीको बारेमा कुनै शंका गर्न मिल्दैन।”

बार्सिलोनाका प्रमुख खेलाडी अझै पनि मेस्सी नै भएता पनि क्लबमा थुप्रै उत्कृष्ट खेलाडीको उदय भएको छ। रोनाल्ड अराउजो, सर्जिनो डेस्ट, रिकी पुइग, पेड्री, फ्रान्सिस्को ट्रिनकाओ, ओस्कार मिन्गेजा, इलाइक्स मोरिबा र अन्सु फाती, यी सबै खेलाडी २२ वा कम उमेरमा नै आफ्नो नाम बनाएका छन्।

मेस्सीले गत सिजन नै आफूले क्लब छाड्ने चाहना देखाएका थिए जुन सफल भने हुन सकेन। तर अहिले बार्सिलोनामा अवस्था निकै परिवर्तन भएको छ। क्लब बिस्तारै सुधारिएको छ। क्लबको अध्यक्षमा जोआन लापोर्टा निर्वाचित भएका छन्, जोसँग मेस्सीको राम्रो सम्बन्ध रहेको बताइन्छ। यस्तोमा मेस्सीको निर्णय के हुन्छ भनेर जारी सिजनको अन्त्यमा नै थाहा हुनेछ।

