काठमाडौँ – नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका हुन्।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेपश्चात सभालाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको बताए। ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु विरुद्ध षडयन्त्र भइरहेको र त्यसलाईरोक्न आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने प्रचण्डको भनाई छ।
गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन तर्फ लागेको प्रचण्डले आरोप लगाए। संसद विघटन सोहि षड्यन्त्र मध्येको एक रहेको पनि प्रचण्डले जिकिर गरे। परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको प्रचण्डले दावी छ।
“परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ। विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।”,प्रचण्डले भने।
प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चेर तानाशाही प्रवृत्ति देखा परे त्यो जनताले स्वीकार नगर्ने प्रचण्डको भनाई छ। ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा आफूहरुले रक्षा गर्ने प्रचण्डले बताए। प्रचण्डले भने,”जरूरी पर्यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ।”