एजेन्सी – युभेन्टसका पूर्व अध्यक्ष जियोभन्नी गिग्लीले पोर्चुगिज क्रिस्टियानो रोनाल्डोलाई बेच्नुपर्ने बताएका छन्। युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएपछि गिग्लीले रोनाल्डो महँगो रहेको भन्दै उनलाई बेच्नु नै उचित हुने बताएका हुन्।
रोनाल्डो च्याम्पियन भएपनि युभेन्टसका लागि धेरै महँगो भएको उनले बताए। रोनाल्डोलाई अनुबन्ध गरेर युभेन्टसले महँगो गल्ती गरेको गिग्लीको टिप्पणी छ।
युभेन्टसले एक गोलको लागि रोनाल्डोलाई १ मिलियन युरो तिरिरहेको पनि गिग्लीले बताए। रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टस आउने समयमै रोनाल्डो महँगो भएको भन्दै आफूले टिप्पणी गरेको गिग्लीले सम्झिए।
“रोनाल्डो युभेन्टस आएकै बेला उनी च्याम्पियन भएपनि धेरै महँगो भएको बताएको थिएँ।”,उनले भने,”उनीहरु रोनाल्डोलाई प्रति गोल १ मिलियन युरो तिरिरहेका छन्।”
उनले आउँदो समरमा क्लबले रोनाल्डोलाई बेच्नु पर्ने सल्लाह समेत दिएका छन्। उनले भने,”क्लाबले रोनाल्डोलाई सिजनको अन्त्यमा बेच्नुपर्छ र [फाबियो] प्याराटीसीलाई पनि हटाउनु पर्छ।”
रोनाल्डो सन् २०१८ मा युभेन्टस पुगेका हुन्। रियल म्याड्रिडमा ९ वर्ष बिताएका रोनाल्डोलाई युभेले १ सय मिलियन युरो तिरेको थियो। च्याम्पियन्स लिग जित्ने आशा सहित रोनाल्डोलाई भित्र्याएको भएपनि युभेन्टसको त्यो सपना अहिले सम्म पूरा हुन सकेको छैन।