काठमाडौँ – नेपालमै पहिलो पटक ठूलो परिणाममा युरेनियमसहित केहि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। दुई किलो युरेनियमसहित ४ जनालाई प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
उनीहरुलाई प्रहरीले बिहिबार पक्राउ गरेको बताइएको छ। खुमलटारस्थित नास्टको प्रयोगशालाकाे परीक्षणबाट बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ।
जफत भएको युरेनियम प्राकृतिक युरोनियम रहेको प्रहरीको भनाई छ। बरामद गरिएकाे युरेनियम ५ अर्व रूपैयाँभन्दा बढीकाे हुनसक्ने अनुमान गरिएको छ।
पक्राउ परेकाहरुले दिएका बयान अनुसार उक्त युरेनियम २० वर्ष अघि नै भारतबाट आएको थियो। भारतमा २५ वर्षअगाडि खनिज खानीमा काम गर्ने एक वृद्धले उक्त युरेनियम ल्याएका थिए। युरेनियम बिक्री गर्नका लागि बाहिर ल्याएपछि प्रहरीले सूचना पाएको थियो। पक्राउ परेकाहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।
प्रहरीले छापा मार्दा २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० थान, सर्वो स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री पाँच लिटर नाप्ने एक थान, एक लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १००, स्टिकर लगाएको एक लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट्स लेखिएको इनामेल ५०० लिटरको सात बट्टा, एक लिटरवाला दुई थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन थान ३३ बरामद गरेको छ ।