काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले केही समयअघिदेखि पहल गरिरहे पनि उनी आफैंले भने अग्रसरता लिइरहेका थिएनन् ।
पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेपछि देउवा एकाएक उत्साही भएका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएपछि देउवालाई अप्ठ्यारो परेको थियो ।
उनले सत्तालोलुप नभएको सन्देश दिन बिहीबारमात्रै सरकारको नेतृत्व लिन आफूले नचाहेको प्रस्टीकरण दिएका थिए । सत्ता समीकरणका लागि शुक्रबार कांग्रेस र जसपाबीच छलफल भएको थियो ।
त्यसअघि कांग्रेसभित्रै आन्तरिक समझदारी जुटाउन पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकले देउवालाई प्रधानमन्त्रीका रूपमा सर्वसम्मत स्विकारेपछि देउवाले वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिने बताएका थिए ।
‘कांग्रेसका लागि अवसर आएको छ, अब यो अन्योललाई धेरै अघि बढ्न दिन हुन्न, हामीभन्दा तपाईं नै सत्ताको राम्रो खेलाडी हुनुहुन्छ, क–कसलाई के–के जिम्मेवारी दिने हो दिनुहोस्,’ बैठकमा सिटौलाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बनाउन अग्रसरता लिनुहोस् ।’ वरिष्ठ नेता पौडेल भने त्यहाँ उपस्थित थिएनन् । शुक्रबार बिहान आफ्नो पक्षको बैठक सकेर उनी बागलुङ पुगेका थिए ।