ओली भन्छन् – “चुनावमा जान डराएकाहरुले दुई वर्ष पछि धुलो चाट्छन्”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली लोकतन्त्रवादीहरुलाई जनताले हराउने बताएका छन्।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नेक्रममा ओलीले निर्वाचनमा गएको अवस्थामा नक्कली लोकतन्त्रवादीहरु पराजित हुने बताएका हुन्।

अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा विघटनपछि ताजा जनादेशमा जान डराएका दलहरू दुई वर्षपछि हुने निर्वाचनमा धुलो चाट्ने दाबी गरे।

आफूले निर्वाचनको घोषणा गर्दा पराजित हुने देखेपछि नक्कली लोकतन्त्रवादीहरु हाउभाउसहित भाषण गरेको ओलीले बताए। चुनावमा जाने आँट नभएपछि आफूलाई सरकारबाट हटाउन खोजेको ओलीको भनाई छ।

“नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्यो, चुनाव घोषणा गर्यो, जनताका बीचमा जाने कुरा गर्यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्यो। यसको अर्थ के हो? यो देश अगाडि बढ्यो, चुनावमा जाने हो भने यिनले माटो चाट्छन्, धुलो चाट्छन्।”,ओलीले भने।

त्यस्तै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न नेताहरु ठाउँ-ठाउँमा प्रधानमनत्री बनिदिनू पर्‍यो भन्दै निवेदन बोकेर हिँड्ने गरेको पनि बताएका छन्। आफूले गरेको विकास देख्न नसक्नेहरुले सरकार ढाल्न खोजेको ओलीले बताए।

“केपी ओलीले विकास गर्‍यो, यसलाई हटाउन पर्‍यो। विकास नगर्ने सरकार बनाउन पर्‍यो भनेर अरु पार्टीमा निवेदन हाल्न जान्छन्”,ओलीले भने।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१५:५५

प्रचण्ड भन्छन् – “जसका निम्ति संघर्ष गरेको त्यहि वर्गले चिनेन”