काठमाडौं : माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले संसद् पुनःस्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको टिप्पणी गरे। नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता हुन लिखित निर्देशन दिइएको सुनाए। र, अर्को पार्टीमा लागेको भन्ने सूचना भएकोले त्यसबारेमा स्थिति के हो भनेर स्पष्ट पार्नको लागि २४ घण्टाको पनि समय दिइएको उनले जनाए।
उनले अब नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउनुपर्ने पनि धारणा राखे। उनले भने,‘हामीले सम्भव हुन्छ भने कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउनुपर्छ भनेका छौं।’ तर, प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रयास गरेको सुनाउँदै उनले कतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने भए भने नेपालमा अदृश्य घट्ना पनि घट्नसक्ने पौडेलको टिप्पणी छ।
उनले आफूहरूले सरकारको नेतृत्वको दाबी नगरेको पनि स्पष्ट पारे। उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जो भएपनि आफूहरूलाई कुनै आपत्ति नहुने सुनाए। उनले प्रधानमन्त्री ओलीले जसपाको माग र मुद्दा कुनैपनि हालतमा सम्बोधन नगर्ने ठोकुवा गरे। ‘जसपाको माग हामीले पूरा गर्छौं’,उनले भने,‘ओलीले त कुनैपनि हालतमा गर्दैनन्।’
प्रधानमन्त्री पद टिकाउन ओलीले जस्तोसुकै सम्झौता गर्नसक्ने उनले बताए। तर, सम्झौता भएको भोलिपल्टबाट त्यसलाई लत्याउने पनि उनले ठोकुवा गरे। विप्लव र सिके राउतलाई वार्ता गरेर सहमति गरेकोमा भने उनले ओलीको कदमको प्रशंसा गरे। तर, विप्लवका माग सरकारले पूरा नगरेको उनको भनाई छ।
फरक प्रसंगमा उनले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि हतियार उठाउने कुरा नगरेको जिकिर गरे। उनले भने,‘उहाँले हतियार उठाउने कुरा गर्नुभएको छैन्। बरु, काठमाडौं बस्न अलिक कम गरेर जनताको माँझ बस्नुपर्छ भन्नुभएको हो।’