एजेन्सी – लिभरपुलका पूर्वफरवार्ड रोबी फाउलरले मोहम्मद सालाहलाई अन्यत्र जान दिनुपर्ने बताएका छन्। एक मिडियामा प्रकाशित उनको स्तम्भका अनुसार सलाहलाई अन्यत्र जान दिइनुपर्छ।
पछिल्लो समय सालाह लिभरपुलमा सन्तुष्ट नरहेको बताउने गरिन्छ। केहि समय अगाडी चेल्सी विरुद्धको खेलमा ‘सब्स्टिट्युट’ गरिएपछि सालाह सांकेतिक असहमति जनाएका थिए। त्यसपश्चात सालाह लिभरपुलमा झनै बढी असन्तुष्ट रहेको बताउन थालिएको छ।
यस्तो अवस्थामा सालाहलाई बेच्नु दुवै पक्षको लागि फाइदाजनक हुने फाउलर बताउँछन्। यस्तो गर्दा सालाहलाई पनि अन्य लिगमा मौका मिल्ने र लिभरपुललाई पनि आर्थिक रुपमा फाइदा हुने उनको भनाई छ। फाउलरका अनुसार सालाह बेचेको खण्डमा आर्थिक मात्र नभई अन्य फाइदा पनि हुनेछन्।
“सालाह असन्तुष्ट छन् भने उनलाई क्लब छाड्न दिइनुपर्छ र टोलीलाई पुनर्निर्माण गर्नुपर्छ”,उनी भन्छन्,”सन् २०१८मा फिलिपे कोटिन्हो बार्सिलोना गएपछि जसरी टिम पुनर्निर्माण गरियो, अब पनि त्यस्तै गर्नुपर्छ।”
सालाह हाल युरोपमा केहि ठूला क्लबको नजरमा पनि छन्। ट्रान्सफर बजारको कुरा गर्ने हो भने सालाह १०० मिलियन भन्दा बढीमा बिक्रि हुन सक्छन्। यस रकम लिभरपुलले टिम पुनर्निर्माणमा खर्च गर्न सक्ने र त्यसले लिभरपुललाई पुनः शक्तिशाली अवस्थामा उभ्याउने फाउलरको विश्वास छ।
“यदि सालाह साँच्चिकै खुशी छैनन् भने उनलाई बेच्नुपर्छ, उनलाई बेचेर जति सकिन्छ त्यति उठाउनुपर्छ। त्यो रकम वर्तमान टोलिलाई थप मजबुत बनाउन प्रयोग गर्न सकिन्छ।”,फाउलर भन्छन्।