काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा उथलपुथल हुने गरी विकास भएको दावी गरेका छन्।
आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्नेक्रममा ओलीले आफू नेतृत्वको सरकारले देशमा उथलपुथल हुने गरी विकास गरेको दावी गरेका हुन्।
देशलाई खुला दिसामुक्त बनाउने, तुइन हटाएर झोलुंगे पुल हाल्ने, हजारौँ किलोमिटर सडक बनाउने जस्ता कार्यहरु आफूले गरेको भन्दै ओलीले विकास गरेको देखेरै विरोध गरिएको बताए। गएका तीन वर्षहरुमा आफूहरुले धेरै कामहरु भएको ओलीको दावी छ।
ओलीले भने,”हामीले यो तीन वर्षमा उथलपुथल हुने गरी काम गरेका छौँ। देशलाई खुला दिसामुक्त बनाएका छौँ। तुइन हटाएर झोलुंगे पुल हालेका छौँ, हजारौँ किलोमिटर सडक बनेका छन्।”
दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएको ओलीले दावी मात्रै गरेनन्, आफूहरुले असाधारण उपलब्धि हाँसिल गरेको पनि बताए। उनले भने,”दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्याउनुपर्छ।”
सरकारका कार्यमा भाँजो हाल्न विरुद्ध गरिएपनि आफूहरु नरोकिएको उनले सुनाए। विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा आफूहरुले राम्रो काम गर्दै आएको ओलीले दावी गरे।
“विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं।”,उनले भने।