पहिले मिठा कुरा भए, अन्त्यमा टर्रो कुरा गरे: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता बिना निस्कर्ष नै टुंगिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको दुई पक्षिय बैठकमा पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि दुबै पक्ष आ-आफ्ना अडान छाड्न तयार नभएपछि वार्तामा कुनै सहमती हुन भने सकेन।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता लिनुपर्ने अडानमा नेपाल पक्ष देखिएता पनि ओली पक्षले उक्त प्रस्ताव स्वीकार नगर्दा दुई पक्ष बीच कुनै सहमती हुन नसकेको बताइएको छ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बेचेह एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलेकै अवस्थामा ब्यूँताइदिएको थियो। सर्वोच्चको उक्त निर्णयले नेकपा पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरूको प्रभाव शून्य हुनुपर्ने अडानमा माधव नेपाल पक्ष रहेको थियो।

सोहि प्रस्ताव अनुसार ओलीले फागुन २८ गते गरेको निर्णय खारेज गर्नुपर्नेमा नेपाल पक्ष रहेको थियो। तर ओली पक्षले २८ गतेको निर्णय खारेज गर्न नमानेपछि वार्ता अघि बढ्न नसकेको हो।

यस्तोमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठकको अन्त्य टर्रो रूपमा भएको टिप्पणी गरेका छन्। उनले भने,”पहिला त राम्रै कुरा भएको हो। तर छुट्टिने समयमा टर्रो कुरा भयो। हामीले सर्वोच्चले दिएको निर्णय अनुसार नै पार्टीको जुन पुरानो अवस्था हो, पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भएका हौँ। पार्टीलाई एकताबद्ध बनाउनु पर्छ, अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भनेको हो। र २८ गतेको उहाँको आफ्नो सानो गुटको भेलालाई केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ। त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ भन्दा यसमा आएर कुरा मिलेन।”

प्रकाशित : सोमबार, चैत ०२, २०७७१६:५७

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार