माधव नेपाल समूहको निष्कर्ष: राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको बैठकपछि आफ्ना नेताहरुलाई त्यस बारेमा ब्रिफिङ गर्न बानेश्वोरमा बसेको नेपाल समूहकाे भेलाले कार्यक्रम नरोक्ने निष्कर्ष निकालेको हो।

चैत ४ र ५ गते बोलाइएको कार्यकर्ता भेला नरोकिने र बोलाइएको राष्ट्रिय भेलामा किन जाने भन्ने भ्रम कार्यकर्तामा पैदा नहोस् भन्नका लागि आज बानेश्वरमा छलफल गरिएको बताइएको छ।

त्यस्तै, प्रधानमन्त्री ओली समूहले भोलि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नहुने पनि निर्णय भएको जानकारी दिइएको छ। ओली पक्षले गरेको एकलौटी निर्णय फिर्ता नभएसम्म चियापान कार्यक्रममा जानुको अर्थ नभएकोले आफूहरु उपस्थित नहुने एक नेताले बताए। सबै कुरा मिलेपछि एकताबद्ध भएर देशव्यापी चियापान कार्यक्रम गर्न सकिने उनको भनाइ थियो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्ष बीच भेटवार्ता भएको थियो। जसमा नेपाल पक्षले ओलीले फागुन २८ गते गरेको निर्णय खारेज गर्नुपर्ने बताएका थिए। तर ओली पक्षले उक्त निर्णय खारेज नगर्ने अडान लिएपछि वार्ता अगाडी बढ्न सकेन।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१८:३०

ओलीले प्रचण्डलाई फोन गर्दै भने ‘हामी भेटम न’