बादल सहित माओवादीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाइयो !

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको छ । एकजनाबाहेक अरू मन्त्रीले पार्टीले पठाएको पत्र बुझेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवालय र प्रधानमन्त्रीको कार्यालयलाई उक्त पत्र पठाएको छ । ढकालका अनुसार सबै मन्त्रीले आ–आफ्नो सचिवालयमार्फत पत्र बुझेका थिए । तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्न मानेनन् । उनको सचिवालयले नै पत्र बुझ्न नमानेपछि हुलाकमार्फत उक्त पत्र पठाइएको ढकालले जानकारी दिए । ‘दावा लामाबाहेक सबै मन्त्रीका सचिवालयले पत्र बुझे । तर, उनले आफ्नो सचिवालयलाई पनि कुनै हालतमा पत्र नबुझ्नु भनेका रहेछन् । बुझ्नै नमानेपछि हुलाकमार्फत पठाइदिएका छौँ,’ ढकालले भने ।

माओवादी केन्द्रका तर्फबाट हाल सरकारमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री लामा रहेका छन् । मन्त्रीहरूले भने यसअघि नै यस्ता पत्रको कुनै औचित्य नरहने बताएका थिए ।

पत्रमा पार्टीका तर्फबाट सरकारमा रहेकाले तुरुन्तै राजीनामा दिन निर्देशन दिइएको छ । साथै, एमालेको संगठनमा राखिएको भन्ने विषयमा आफ्नो स्थिति के हो भनेर प्रस्ट पार्न निर्देशन दिइएको छ । माओवादी केन्द्रको २९ फागुनमा बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई फिर्ता हुने निर्देशनसहित २४ घन्टे पत्र काट्ने निर्णय गरेको थियो ।

आइतबार र सोमबार दुई दिन बसेर स्थगित भएको पार्टी केन्द्रीय समितिको बैठकले उक्त निर्णय अनुमोदन गरेपछि आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई माओवादी केन्द्रले चिठी लेखेको हो । नेकपा एमालेको ओली पक्षले २८ फागुनमा बसेको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीमा रहेका २३ जनालाई मनोनीत गरेपछि त्यसको भोलिपल्ट माओवादी केन्द्रले उक्त निर्णय लिएको थियो ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७०७:४४

अब यस्ता मोबाइल फोन चल्न बन्द हुने !