काठमाडौँ – सर्वसाधारण नागरिक सहकारी संस्थाबाट ठगिएका घटना त हामीले बारम्बार सुन्दै आएका छौं । पछिल्लो समय भने सहकारीबाट राज्यका उच्चपदस्थ कर्मचारी पनि ठगिन थालेका छन् । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।
राजधानीको धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारी संस्थामा उच्च राजनीतिज्ञ, कर्मचारीका साथै निम्न आय भएका सर्वसाधारण गरी १६ सयभन्दा बढी सदस्यको करिब ५० करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । ०६५ सालदेखि सुरु भएको संस्थामा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीलगायतका उच्चपदस्थ व्यक्तिहरुले बचत गरेका थिए । उच्चपदस्थ व्यक्ति सदस्य भएपछि संस्थामा न्यून आयस्तरका सर्वसाधारणले पनि बचत जम्मा गर्न थाले । तर, संस्थाको रकम सञ्चालकहरू र कर्मचारीले नै हिनामिना गरेपछि संस्था सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ ।
संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुले अधिकांश रकम हिनामिना गरेको भेटिएको संस्थाका सल्लाहकार हेमन्त दाहालले जानकारी दिए । ‘बचतकर्ताको ५० करोड दायित्वमध्ये १५ प्रतिशतमात्र ऋण लगानी भएको छ,’ उनले भने, ‘अधिकांश रकम सञ्चालकहरु र व्यवस्थापकको मिलेमतोमा दुरुपयोग भएको पाइएको छ ।’
गत वर्षदेखि संस्थाले बचत फिर्ता दिन छोडेपछि मात्र सञ्चालक र कर्मचारीको बदमासी सार्वजनिक भएको थियो । बचत फिर्ता गर्न नसकेपछि व्यवस्थापक लोकनाथ सापकोटा सम्पर्कविहीन भए । त्यसपछि पीडितहरुको उजुरीका आधारमा प्रहरी कार्यालयमा छलफल गर्दा सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा आर्थिक वर्ष २०६८÷०६९ देखि गलत लेखापरीक्षण प्रतिवेदन तयार पार्दै ठगी हुँदै आएको पत्ता लागेको थियो ।
त्यसपछि पीडित सदस्यहरूले जाहेरी दिन लागेपछि तत्कालिन सञ्चालकहरूले निश्चित समयभित्र पीडितहरूको रकम भुक्तानी गर्ने सम्झौता गरेका थिए ।
२०७६ फागुन २३ गते सम्पन्न साधारणसभामा तत्कालिन सञ्चालक र पूर्वसञ्चालक समेत गरी सात जनाले आनन्दनगर र धुम्बाराहीस्थित घरजग्गा पीडितहरूको रकम भुक्तानी गर्ने सुरक्षाका लागि वडाध्यक्ष र सदस्यहरू समेतको उपस्थितिमा दृष्टिबन्धक गरिदिने सर्तमा मञ्जुर गरी ०७६ चैत ६ गते दृष्टिबन्धकसमेत गरेका छन् । सञ्चालकहरूले सम्पूर्ण रकम माघ मसान्तसम्म भुक्तानी गर्ने लिखित र मौखिक रुपमा पटक प्रतिवद्धता गरे पनि हालसम्म १० प्रतिशत रकममात्र पीडितहरूले दामासाही हिसाबले पाएका छन् ।

