“हालाण्ड र एम्बाप्पे दुवैलाई म्यानचेस्टर सिटिले छाड्नु हुँदैन”

एजेन्सी – अहिले विश्व फुटबलमा सबै भन्दा बढी चर्चा कसैको भइरहेको छ भने ती जर्मन क्लब बोरुसिया डर्टमण्डका अर्लिङ ब्राउट हालाण्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पे हुन्। दुवै यति बेला युरोपका धेरै क्लबको नजरमा छन्।

दुवै खेलाडीले आउँदो ट्रान्सफर विन्डोमा आफ्ना-आफ्ना क्लब छाड्ने समाचारहरु आएका छन्। जससँगै दुवै कुन क्लब जालान् भन्ने अड्कलबाजी शुरु भएको छ।

पछिल्लो खबरका अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटिले हालाण्ड भित्र्याउने प्रयास थालेको छ। फ्रेन्च राष्ट्रिय फुटबल टोलिका पूर्वखेलाडी थियरी हेनरी भने म्यानचेस्टर सिटिले हालाण्डलाई मात्र नभई एम्बाप्पेलाई पनि भित्र्याउनुपर्ने बताउँछन्।

हालाण्ड र एम्बाप्पे भिन्न तरिकाले खेल्ने स्ट्राइकर भएपनि सिटिले दुवैलाई क्लबमा ल्याउनुपर्ने उनको भनाई छ। बढी प्राथमिकतामा हालाण्ड भएपनि सिटिले एम्बाप्पे भित्र्याउन प्रयास गर्नुपर्ने हेनरीले बताए।

एक अन्तर्वार्ताका क्रममा हेनरीले भने,”यदि म म्यान सिटी थिएँ भने म दुवैलाई ल्याउने प्रयास गर्थें। र, मलाई यो लाग्छ कि सिटिले दुवैलाई ‘ह्यान्डल’ गर्न सक्छ।”

दुई फरक शैलीका स्ट्राइकरलाई खेलाउँदा क्लबको प्रदर्शनलाई खासै नकारात्मक असर नपर्ने पनि उनले बताए। उनले भने,”यो सत्य हो कि दुवैको शैली फरक छ। तर, दुई फरक स्ट्राइकरहरूलाई सँगै खेलाउँदा के हुन्छ र ?”

त्यस्तै सिटिको खेल शैलीका लागि हालाण्ड ठिक छैनन् भन्ने कुरालाई पनि उनले खारेज गरे। कम उमेरमै राम्रो खेलिरहेका हालाण्डले आउने समयमा थप सुधारिएको प्रदर्शन गर्ने हेनरीको विश्वास छ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१०:४३

लालिगामा १७ खेल देखि अपराजित बार्सिलोना, मेस्सीले बनाए अर्को किर्तिमान !