एजेन्सी – सोमबार राति एसडी हुएस्कामाथि ४–१ को जित हात पारेसँगै बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउदै दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

बार्सिलोनाको २७ खेलबाट ५९ अंक पुगेको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिकोभन्दा ४ अंकले पछि तथा तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अगाडी छ ।

सोमबार बार्सिलोनालाई जित दिलाउनेक्रममा लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले गोल गरे। बार्सिलोनालाई जिताउन मेस्सीले महत्वपूर भूमिका खेले। मेस्सीले दुई गोल मात्र गरेनन्, एक असिस्ट पनि गरे। ओस्कार मिनगुइजाले मेस्सीकै पासमा गोल गरेका थिए।
बार्सिलोना ला-लिगामा अपराजित

सिजनको शुरुवातमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि बार्सिलोना लगातार राम्रो प्रदर्शन गरिरहेको छ। ला-लिगा अन्तर्गतका १७ खेलमा बार्सिलोना पराजित भएको छैन। लालिगामा बार्सिलोना डिसेम्बर ५ मा काडिज विरुद्धको खेलमा २-१ ले पराजित भएको थियो। त्यसयता उसले कुनै पनि खेल हारेको छैन। यस बीचमा काडिजको अर्को खेलमा बराबरी खेलेबाहेक बार्सिलोनाले सम्पूर्ण खेल जितेको छ।
मेस्सीको किर्तिमान

सोमबार राति दुई गोल गरेपछि यस सिजनमा मेस्सीको गोल संख्या २१ पुगेको छ। जससँगै मेस्सीले एक नयाँ रेकर्ड पनि बनाएका छन्। मेस्सी ला-लिगाको १३ सिजन लगातार २० भन्दा बढी गोल गर्ने एक मात्र खेलाडी बनेका छन्।
‘डबल’ ट्रफीको आशा कायमै

लालिगाको दोस्रो स्थानमा उक्लिए सँगै बार्सिलोनाले लालिगा जित्ने सम्भावना बढेर गएको छ। बार्सिलोना शीर्षस्थानको एट्लेटिकोभन्दा ४ अंकले मात्र पछि छ। यसरी लालिगा जित्ने सम्भावना जिवितै रहेको अवस्थामा बार्सिलोनाले यस सिजन कोपा डेल रे पनि जित्न सक्छ। कोपा डेल रेको फाइनलमा बार्सिलोना एट्लेटिक क्लबसँग भिड्ने छ।

