एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड पुनः घाइते भएका छन् । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड फेरि घाइते भएको पुष्टि छन् । चोटका कारण पछिल्ला केही खेल गुमाएका हाजार्ड शनिबार राति इल्चेसँगको खेलबाट मैदान फर्किएका थिए । रियलले २–१ गोलको जित निकालेको खेलमा ३० वर्षीय हाजार्डले अन्तिम १५ मिनेट मात्र खेलेका थिए ।
पुनः दाहिने खुट्टामा चोट बोकेका हाजार्डले आज मंगलबार राति एटलान्टाविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । तथापि उनले लामो समय मैदानबाहिर बस्नुपर्ने सम्भावना भने कम छ ।
उनको पछिल्लो चोट समामान्य रहेपनि उनले क्लबको सोमबारको अन्तिम प्रशिक्षण सेसन गुमाएका थिए । पहिलो लेगमा रियलले १–० को अवे जित निकालेको थियो । घरेलु मैदानमा हुने दोस्रो लेगमा रियलले यही नतिजा कायम राख्न सके क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

