स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक जिनेदान जिदानले क्लबले आउँदो समरमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न सक्ने संकेत दिएका छन्। रोनाल्डो २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस प्रस्थान गरेका थिए।
गत हप्ता पोर्टोसँग हार्दै च्याम्पियन्स लिगबाट बाहिरिएपछि इटालियन च्याम्पियन युभेमा रोनाल्डोको भविष्यबारे चर्चा चल्न सुरु भएको छ। युभेन्टस २०२२ मा क्लबसँगको सम्झौता अन्त्य हुनुभन्दा पहिला नै रोनाल्डोलाई बेच्न चाहन्छ। यस्तोमा जिदानले रोनाल्डो रियल आउन सक्ने संकेत दिएका छन्।
मंगलबार एटालान्टासँगको च्याम्पियन्स लिग खेलअघि स्काई इटालियासँग कुरा गर्दै म्याड्रिडका मुख्य प्रशिक्षकले भने, “अफवाहहरू सत्य छन्? हुन पनि सक्छ। हामी सबैलाई रोनाल्डोको बारेमा थाहा छ, रियल म्याड्रिडका लागि उनले के गरेका छन् हामीलाई थाहा छ, तर अब उनी युभेका खेलाडी हुन्, उनी अर्को टोलीसँग खेल्दैछन्। हामी हेर्नेछौं उनको भविष्य के हुन्छ।”
रोनाल्डोले स्पेनिस क्यापिटलमा ९ वर्ष बिताए, जुन समयमा उनले ४३८ खेलमा अविश्वासनिय ४५० गोल गरेका छन्। म्याड्रिडमा उनले २ लालिगा उपाधिका साथै ४ च्याम्पियन्स लिग उपाधि पनि जितेका छन्।