काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुटगत भेला नचलाउन चेतवानी दिएका छन्। मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्नेक्रममा ओलीले गुटगत भेला आयोजना नगर्न चेतवानी दिएका हुन्।
माधव नेपाल पक्ष सहभागी नभएको कार्यक्रमबाट ओलीले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिए। गुट भेला चलाउनलाई कारवाही गर्ने ओलीको चेतवानी छ। बुधबार माधव नेपालपक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला प्रति लक्षित गर्दै ओलीले यस्तो चेतावनी दिएको बुझिएको छ।
“उनीहरु राष्ट्रिय भेला आयोजना गरेर तमासा देखाउन लागिरहेका छन्। अराजकता, अनुशासनहीनता, विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य हुँदैन। अचाक्ली पार्टीलाई पार्टीको रुपमा भाडभैलो गरेको छ। अब पार्टी अनुशासनमा चल्छ।”,ओलीले भने,”गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही हुन्छ।”
ओलीले गुटगत भेला नगर्न, सहभागी नहुन, सजग र सतर्क रहन एमालेसँग आबद्ध नेता कार्यकर्तालाई निर्देशन समेत दिए। गुटगत भेला गरेर फेरि तमासा बनाउने, जगहसाइँ गर्ने, सञ्चार माध्यमलाई बिजनेस दिने, फलानो ठाउँमा फलानो गुट भनेर समाचारहरु दिने काम नगर्न ओलीले आग्रह गरे।