विराटनगर । नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन पछिल्लो समय ट्यांकरमैै तस्करी हुने गरेको रहस्य खुलेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।
भारतबाट ल्याइएको डिजेल भरेर भारततर्फ नै लैजान लागेको इन्धन बोक्ने ट्यांकर र दुई व्यक्ति शनिवार विराटनगरमा पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार २ हजार ६५० लिटर डिजेल हालेर भारततर्फ जान लागेको को १ ख ५९१२ नम्बरको ट्यांकरसहित दुई जना पक्राउ परेका हुन् ।
‘भारतमा महँगोमा बेच्न चोरी गरी लैजाँदा रहेछन्,’ आयल निगमका एक अधिकारीले भने, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महँगो छ । त्यही भएर तस्करी हुने गरेको छ ।’ शनिवार तस्करी हुन लागेको बेला बरामद भएको इन्धन भारत पुर्याउँदा तस्करीमा लागेका गिरोहलाई करीब ६५ हजार रुपैयाँ फाइदा हुने भएको थियो ।
शनिवार इन्धन लिन भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्यांकर जाँच गर्दा २ हजार ६६० लिटर डिजेल बरामद भएको थियो । ट्यांकरको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले मोरङ प्रहरीलाई खबर गरेको थियो ।
भारत अररिया जिल्ला मिरगञ्जका चालक र सहचालक २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले डिजेल तस्करी गरेर भारत लैजाने तयारी गरेको खुलेको मोरङ प्रहरीले बताएको छ ।