मोड्रिच भन्छन् – “उमेरले ३५ वर्ष भएँ, तर २७ मात्रै छु जस्तो महसुस हुन्छ”

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले उमेर भन्दा पनि मैदानमा कस्तो प्रदर्शन गरिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन्।

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब एटलान्टालाई ३–१ ले हराए पश्चात मिडियाहरुसँग कुराकानी गर्दै मोड्रिचले एक खेलाडीको उमेर भन्दा पनि प्रदर्शन हेरिनुपर्ने बताएका हुन्। उमेरले आफू ३५ वर्षको भएपनि आफू २७ वर्षको छु जस्तै अनुभव हुने उनले सुनाए।

मोड्रिचले भने,”म ३५ वर्षको छु, तर मलाई २७ वर्ष मात्रै भएँ जस्तो भान हुन्छ। उमेरलाई वास्ता गर्नु हुँदैन, उमेर भन्दा पनि मैदानमा हामी कस्तो प्रदर्शन गर्छौं भन्ने कुरालाई हेरिनुपर्छ।”

ढल्कँदो उमेरका बाबजुत पनि आफ्नो प्रयास उत्कृष्ट खेल प्रदर्शन गर्नेमै रहने उनले बताए। उनले भने,”उमेर जे जति भएपनि, म उच्च स्तरमाको खेल्न चाहन्छु।”

त्यस्तै म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पनि मोड्रिचको प्रदर्शन देख्दा उनी ३५ वर्ष पुगिसकेको महसुस नहुने बताएका छन्। मोड्रिच असाधारण खेलाडी रहेको उनले बताए।

“मोड्रिच ३५ वर्ष भए होइन ? तर उनको प्रदर्शनले भने त्यस्तो देखाउँदैन। उनी एक असाधारण खेलाडी हुन्।”, जिदानले भने।

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब एटलान्टालाई ३–१ ले पराजित गरेसँगै म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

प्रि–क्वाटरफाइनलमा रियलले समग्रमा एटलान्टालाई ४–१ पराजित गर्यो। मंगलबार राति रियलले जित्दा म्याड्रिडको भूमिका महत्वपूर्ण रह्यो। उनकै पासमा करिम बेन्जेमाले म्याड्रिडलाई अग्रता दिलाएका थिए।

प्रकाशित : बुधबार, चैत ०४, २०७७१४:१४

हालाण्ड किन्न यी खेलाडी बेच्दै बार्सिलोना ! सूचीमा कोको ?