काठमाडौँ – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको एमालेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बुधबार बसेको संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता समेत बोलाएको छ।
हाल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही रहेका छन्। प्रदेश क्याबिनेटमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।
कर्णाली प्रदेशमा ४० प्रदेश सभा सदस्य रहेका छन् । त्यसमध्ये एमालेका २० सांसद छन् भने माओवादी केन्द्रका १३ सांसद छन्। यस्तै नेपाली कांग्रेसका ६ र राप्रपाको १ जना सांसद रहेका छन्।
माधव नेपाल पक्षका सांसद संसदीय दलको बैठकमा सहभागी भएनन्
बुधबार बसेको एमालेको प्रदेशसभा संसदीय दलको बैठकमा माधव नेपाल पक्षमा उपस्थित भएनन्। २० जना प्रदेशसभा सदस्य मध्ये माधव नेपालका ११ जना सांसद छन् भने ओली पक्षका ९ जना सांसद रहेका छन्।
बुधबारको संसदीय दलको बैठकमा उपस्थित नभएका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय समेत भएको छ।