काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने भन्नेमा अलमल देखिएको छ । समानान्तर रूपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
पार्टीको अन्तरसंघर्ष संगठनका आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने रणनीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही रणनीतिअनुरूप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने, ती कमिटीमा ओलीतिरका मान्छे नआए पदपूर्ति गर्दै जाने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल समूहको योजना छ । उपाध्यक्ष भीम रावलले बिहीबारसम्म आउने समूहगत छलफलको निचोडका आधारमा आगामी योजना तय हुने जानकारी दिए ।
खनाल–नेपाल समूहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने प्रस्ताव गरेको छ । ‘कमरेड केपी ओलीका विचार र व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । हाम्रो तात्कालिक कार्यभार माथिका चुनौतीहरू सामना गर्नका निम्ति हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो,’ वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा भनिएको छ, ‘त्यसका निम्ति सर्वप्रथम नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । त्यसको पूर्वसर्त २०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्छ ।’