नेकपाको रोग एमालेमा सर्यो !

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद पुनःस्थापित नेकपा एमालेमा सरेको छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच विवाद बढ्दै गएको हो । अध्यक्ष ओलीले एकलौटी रुपमा आफु पक्षिय केन्द्रीय सदस्य बोलाएर निर्णय गरेको भन्दै नेपाल समुह राष्ट्रिय भेलामा जुटेको छ ।

ललितपुरको एक पार्टी प्यालेसमा बुधबारबाट शुरु भएको भेलामा मुख्य विषय पार्टी एकताका लागि २०७५ जेठ २ गतेको अवस्थामा लैजानुपर्ने उल्लेख छ । भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै नेता नेपालले अध्यक्ष एंव प्रधानमन्त्री ओलीमाथी गम्भिर आक्षेपहरु लगाएका छन् । उनले नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले हर्षबढाइँ गरेर सुनियोजित रूपमा पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अगाडिको अवस्थामा पु¥यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले गरेको वाचाको प्रतिकूल थियो’, प्रतिवेदनमा अगाडी भनिएको छ, ‘त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरूको पराजयको रुपमा प्रचार गराउनुभयो ।’

नेता नेपालले फागुन २८ गतेको निर्णयमार्फत सुनियोजित ढंगले पार्टी विभाजनमा लागेपछि एकता बचाउन कार्यकर्ता भेला गर्नु परेको उल्लेख गरेका छन् । ‘…कमरेड केपी ओलीको सुनियोजित रुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि नेकपा (एमाले)को एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नेकपा (एमाले)का समस्त सदस्यहरुलाई गोलबन्द गर्नु अनिवार्य भयो । त्यही ऐतिहासिक दायित्व बोधका साथ यो राष्ट्रिय भेलाको आयोजना गरिएको हो’, प्रतिवेदनमा उल्लेख छ ।

संस्थापन पक्षका नेताहरु भने यो भेला एकताका लागि नभई मुल नेतृत्वलाई खुइल्याउन आयोजना गरेको बताएका छन् । नेकपाका नेता शंकर पोखरेलले पार्टी र आन्दोलनको मुख्य नेताका विरुद्धमा प्रहार केन्द्रित गरेर पार्टी एकताको रक्षा एंव आन्दोलनको हित र विकास नहुने बताए । उनले नयाँ आवरणमा अध्यक्षमाथी गरिएको प्रहार र घेरावन्दी अस्विकार्य रहेको बताए । ‘अहिले एमालेमा सिर्जित विवाद नेकपा भित्रको विवादको निरन्तरता हो । नयाँ आवरणमा अध्यक्ष माथि गरिएको प्रहार र घेरावन्दी अस्विकार्य छ’, नेता पोखरेलले भने ।

अध्यक्ष ओलीले पनि यसअघि नै भेलामा उपस्थित हुनेलाई पार्टीको विधान, संविधान र कानुन बमोजिम अगाडी बढ्ने चेतावनी दिइसकेका छन् । सोही अनुरुप एमालेका दलका नेता ओलीले विहिवार संसदीय दलको बैठक आव्हान गरेका छन् । नेपाल समुहको भेला चलिरहेका बेला विहिवार विहान ११ बजे संसदीय दलको बैठक आव्हान गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

दलका प्रमुख सचेतक भट्टराईले दललाई एक ढिक्का बनाएर लाने विषयमा छलफल गर्न बैठक बोलाएको बताए । ‘पार्टीभित्र समस्याहरू देखिएका छन्, यस्तो बेला पार्टीको संसदीय दललाई कसरी एक ढिक्का बनाएर लाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले बताए । सो भेलामा नेपाल समुह उपस्थित नहुने भएको छ । भेला चलिरहेकाले बैठकमा उपस्थित हुन नसक्ने सो पक्षका नेता योगेश भट्टराईले जानकारी दिए ।

एमालेमा अहिले विगतको नेकपा जस्तै दुई समानान्तर गतिविधि हुन थालेका छन् । नेकपामा पनि तत्कालिन पहिलो अध्यक्ष ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवैबाट हटाउन खोजेपछि विवाद शुरु भएको थियो । जसले पुष ५ गते आइपुग्दा प्रतिनिधिसभा विघटन र विभाजनको अवस्थामा आएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि एमाले ब्युँताएपछि नेकपाको विवाद जस्तै स्वरुप सो पार्टीमा छिरेको हो ।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७०७:५७

ओलीको सोचलाई देउवाको समर्थन !