काठमाडौँ – काठमाडौँ उपत्यकामा बिहिबार भूकम्पको धक्का महसुस गरिएको छ। बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा उपत्यका सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित काभ्रे र सिन्धुपाल्चोक जिल्लामा समेत महसुस गरिएको बताइएको छ।

काभ्रेको सीसाखानी आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ४ दसमलभ १ रेक्टर स्केलको थियो।

बिहिबार गएको भूकम्प २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको भनाई छ।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।
