सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आफ्नो दाबी नरहेको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।”
अब सहमति अब धेरै टाढा नभएको भन्दै उनले लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको धारणा राखे । प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताए ।
केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा राखेको कुराले भने चिन्नित बनाएको बताए ।
“सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ’, उनको भनाइ छ ।