च्याम्पियन्स लिग २०२०/२१ को अन्तिम ८ को ड्र आज हुँदैछ। नेपाली समय अनुसार बेकुका ४:४५ मा हुने ड्रमा प्रिमियर लिगका ३, जर्मन लिगका २, स्पेनिस लिगको १, पोर्चुगिज लिगको १ र फ्रेन्च लिगको १ टोली गरी आठ टोली छन्। इटालियन लिगबाट भने एउटा टिम पनि अन्तिम ८ मा पुग्न सफल भएन।

प्रतियोगिताको सबैभन्दा सफल टोली रियल म्याड्रिड इटालियन क्लब एटालान्टालाई पराजित गर्दै अन्तिम ८ मा पुगेको हो भने फ्रेन्च च्याम्पियन पीएसजी स्पेनिस महारथी बार्सिलोना माथि सानदार जीत निकाल्दै अन्तिम ८ को टिकट काटेको थियो। त्यस्तै, साबिक विजेता बार्यनले लाजियोलाई हराउँदा डर्टमन्डले स्पेनिस क्लब सिभिल्लालाई हराएको थियो।

अन्तिम १६ मा बोरुसिया मोन्चेन्ग्लाद्बलाई पराजित गर्दै म्यानचेस्टर सिटी अन्तिम ८ मा प्रवेश गर्दा प्रिमियर लिग च्याम्पियन लिभरपुलले आरबी लाईपजिंगलाई हराएको थियो। अर्को प्रिमियर लिग क्लब चेल्सीले भने लालिगा लिडर एथलेटिको म्याड्रिडलाई पराजित गर्दा पोर्चुगिज क्लब पोर्टोले इटालियन च्याम्पियन युभेन्टस माथि रोमान्चक जीत हाँसिल गर्दै अन्तिम ८ को यात्रा तय गरेको थियो।

प्रतियोगिताको ग्रुप स्टेज र अन्तिम १६ को जस्तो कुनै पनि नियम लागू नहुने भएकोले यो चरणमा हरेक क्लब हरेक क्लबसँग ड्र हुने सम्भावना रहेको छ। ग्रुप स्टेज र अन्तिम १६ को ड्र मा भने एउटै देशका दुई क्लब भेट नहुने जस्ता नियम लागू हुने गर्छ।

