पूर्व टोरिनो र युभे डिफेन्डर पास्काले ब्रुनोले युभेन्टसलाई रोनाल्डोले राज गरेको लाजमर्दो क्लब भएको बताएका छन्। गत हप्ता च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित हुँदै अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएसँगै रोनाल्डो र युभेन्टसको चौतर्फी आलोचना हुँदै आएको छ।
यस्तोमा क्लबका पूर्व डिफेन्डरले भने क्लबको व्यवस्थापन टोली माथि तिर चलाएका छन्। क्रिस्टियानो रोनाल्डोलाई क्लबको प्रमुख समस्या बताएका उनले क्लबका दुई मुख्य डिफेन्डर जर्जियो कियेलिनी र लियोनार्दो बोनुसीको पनि चर्को आलोचना गरेका छन्।
इटालियन टिभी कार्यक्रम टिकी-टाकामा बोल्दै उनले भने,”क्लबको व्यवस्थापन टोलीले सबै कुरा बर्बाद गर्दैछ। “उनीहरूले [मासिमिलियानो] एलेग्रीलाई [माउरिजियो] सार्री हस्ताक्षर गर्न क्लबबाट हटाए। जसपछि रोनाल्डो र उनका साथीहरुको दबाबमा सार्रीलाई पनि एकै सिजनमा वर्खास्त गरे।”
उनले क्लबमा खेलाडीले आफ्नो धारणा राख्न सक्ने तर निर्णय लिने अधिकार नहुने भन्दै क्लबको व्यवस्थापन टोलीले निर्णय लिनुपर्ने तर खेलाडीको निर्णय हाबी भएको समेत आरोप लगाएका छन्। त्यस्तै उनले जर्जियो कियेलिनी र लियोनार्दो बोनुसीको आलोचना गर्दै उनीहरुले युरोपको चौंथो बेस्ट लिगमा ९ उपाधि जितेकोमा कुनै गर्भ नगर्न समेत भनेका छन्।
“कियेलिनी र बोनुसी दुई असाधारण खेलाडीहरु जस्तै देखिन्छन्। उनीहरूले नौ उपाधि जितेका छन् जुन विश्वको चौथो सर्वश्रेष्ठ लिग हो। उनीहरुले सकिएको बार्सिलोनालाई हराए, र भोलिपल्ट पत्रपत्रिकाले उनीहरूले युभेन्टस अनुकरण गर्ने टोली भएको कुरा लेखे,” उनले भने, “युभेन्टस एक लाजमर्दो टोली हो, क्रिस्टियानो रोनाल्डोले शासन गरेको।”