काठमाडौँ – नेपालमै पहिलोपटक रकेट परीक्षण प्रक्षेपण हुने भएको छ । शनिबार नेपालमै पहिलोपटक सिन्धुलीको भिमानमा रकेट प्रक्षेपणको पहिलो परीक्षण हुन लागेको हो।
नियर स्पेसले तयार पारेको रकेट नेपाली सेनासँगको सहकार्यमा परीक्षण प्रक्षेपण गर्न लागिएको नियर स्पेसका इन्जिनियर शिशिर जिसिले बताएका छन्। उनका अनुसार परीक्षण प्रक्षेपणमा प्रधान सेनापतिको पनि उपस्थिति रहनेछ।
नियर स्पेसले परीक्षण प्रक्षेपण गर्न लागिएको रकेटलाई आरम्भ वान नाम दिइएको छ। शनिबार उक्त रकेटलाई आठ हजार २०२ फिट माथिसम्म पुर्याउने योजना रहेको छ।
नेपालमा अहिले सम्म आधिकारिक रुपमा रकेटको परीक्षण प्रक्षेपण भएको छैन। शनिबार हुने परीक्षण प्रक्षेपण नेपालको इतिहाँसकै पहिलो हुनेछ। सन् २०२४ सम्म ११० किलोमिटर माथि आकासमा रकेट पुर्याउने योजना नियर स्पेसले बनाएको छ।
शनिबार नै ६० किलोमिटर यात्रा तय गर्नसक्ने नेपालकै पहिलो ड्रोनको परीक्षण पनि गरिने भएको छ। इलेक्ट्रोनिक इन्जिनियर सोभानराज श्रेष्ठले बनाएको उक्त ड्रोन नेपाली सेनाको उपस्थितमा २० देखि ३० किलोमिटरसम्मको दूरीमा परीक्षण गरिनेछ। उक्त ड्रोन दुर्गम ठाउँहरुमा औषधी पुर्याउन र प्रकोपको समयमा उद्धार कार्यमा प्रयोग गर्न सकिने बताइएको छ।