ओलीलाई नेपालको काउन्टर – ‘भोलि हामी नै बालुवाटारमा हुनेछौँ’

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आउने समयमा आफूहरु नै बालुवाटारमा हुने दावी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले भोलि बालुवाटारमा आफूहरु नै हुने दावी गरेका हुन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई ‘खै कहाँ छन्’ भनेर गरेको व्यंग्यलाई जवाफ दिँदै नेपालले भोलि आफूहरु बालुवाटारमा पनि हुने बताए।

अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा नेपालले धाक नलगाउन ओलीलाई चेतवानी दिए। नेता नेपालले भने,”अरु कुराको धाक नलगाए हुन्छ। हामी यहीँ छौँ। कालीमाटी भन्यो कालीमाटी छौं, सानेपा भन्यो सानेपा छौं, माइतीघर भन्यो माइतीघरमा छौं। भोलि हेर्नुहोला बालुवाटारमा हामी नै हुन्छौँ।”

त्यस्तै नेपालले पार्टी चलाउन केपी शर्मा ओली असफल भएको पनि बताएका छन्। पार्टी एकीकरण पछि ओलीले नेकपा चलाउन नसकेको र अहिले एमाले पनि चलाउन नसकेको नेपालले बताए।

“ओलीले ठीक ढंगले पार्टी चलाउनै सकेनन्। त्यहीकारण हामी विरोधमा उत्रिन बाध्य भएका हौँ।”,उनले भने। पार्टी भित्रको संघर्ष पदका लागि नरहेको उनले स्पष्ट पारे।

नेपालले भने,”अहिले क्रान्तिकारी या व्यक्तिवादी पार्टी बनाउने लडाईं हो। पद र जुँगाको लडाइँका रुपमा यसलाई बुझ्नु गलत हुनेछ।”

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१९:१३

काठमाडौँका यी स्थानमा आज बिजुली नहुने ! कहाँ-कहाँ ?