मेस्सी र रोनाल्डोको पारिश्रमिक कति ? यी हुन् सबै भन्दा बढी पारिश्रमिक बुझ्ने फुटबल खेलाडी !

एजेन्सी – युरोपका सबै भन्दा बढी पारिश्रमिक लिने फुटबल खेलाडीहरुको सूची सार्वजनिक भएको छ। फ्रान्सबाट प्रकाशित हुने एक पत्रिकाले युरोपका सबै भन्दा बढी पारिश्रमिक लिने फुटबल खेलाडीहरुको सूची सार्वजनिक गरेको हो।

सार्वजनिक सूचीको शिर्षस्थानमा मेस्सी छन्। गरिएको दावी अनुसार मेस्सीले साप्ताहिक रुपमा २ दशमलभ १ मिलियन युरो पारिश्रमिक लिन्छन्। यस हिसाबले एक वर्षमा उनले १ सय ८ दशमलभ २ मिलियन युरो पारिश्रमिक बुझ्छन्।

त्यस्तै दोस्रो नम्बरमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोको साप्ताहिक पारिश्रमिक ९ लाख युरो छ। एक वर्षमा रोनाल्डोले ४६ दशमलभ ७ मिलियन युरो पारिश्रमिक बुझ्छन्।

सबै भन्दा बढी पारिश्रमिक बुझ्नेको सूचीमा तेस्रो स्थानमा रहेका नेयमारको साप्ताहिक पारिश्रमिक ६ लाख ६ हजार युरो छ। नेयमार एक वर्षमा ३१ दशमलभ ५ मिलियन युरो पारिश्रमिक लिन्छन्।

सूचीको चौंथो स्थानमा दुई खेलाडी लुइस स्वारेज र एन्टोइन ग्रिज्मान छन्। दुवैको साप्ताहिक पारिश्रमिक ५ लाख ७५ हजार युरो छ। यस हिसाबले दुवै एक वर्षमा करिब ३० मिलियन युरो पारिश्रमिक बुझ्छन्।

एम्बाप्पेको पारिश्रमिक कति ?

विश्व फुटबलमा अहिले सबै भन्दा बढी चर्चामा रहेका किलियन एम्बाप्पे एक हप्ताको करिब ५ लाख युरो पारिश्रमिक बुझ्छन्। यस हिसाबले एक वर्षको उनको पारिश्रमिक लगभग वर्षमा २५ मिलियन युरो आसपास हुन आउँछ।

प्रकाशित : शनिबार, चैत ०७, २०७७११:३७

“मेस्सी र नेयमार सँगै हुन्छन्, तर पीएसजीमा होइन बार्सिलोनामा”