काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर जाने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौँमा आयोजित एक भेलालाई सम्बोधन गर्नेक्रममा नेपालले केपी शर्मा ओलीसँग छुट्टिएर जाने अवस्थामा आफू नरहेको स्पष्ट पारेका हुन्।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले लामो समय देखि ओलीसँग रहेको सम्बन्धलाई तोडेर नजाने बताए।
४८-४९ वर्ष देखि ओली र आफू सँगै रहेको नेपालको भनाई छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,”हामी केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा छैनौँ, तेत्रो लामो समयको मायाप्रीति कहाँ एकै रातमा सकिन्छ र। केपीसँग मेरो मायाप्रिती ४८/४९ वर्षको भइसक्यो। तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमै होला।”
ओलीले एकलौटी ढंगमा पार्टी संचालन गर्न खोजेका कारण समस्या आएको नेपालले बताए। ओली विधान विपरित गएर निर्णय गरेका कारण आफूहरु संघर्षमा उत्रनु परेको उनको भनाई छ।
पार्टीको विधानले अध्यक्ष मात्र नभई पार्टीका सबै पदाधिकारी कमिटीको मातहतमा हुने बताएको नेपालले उल्लेख गरे। केपी ओलीले गोर्खा भर्तीमा खुल्दा मान्छेहरू बाटोबाट टिपे जसरी केन्द्रीय कमिटीको सदस्यहरू राखेको नेपालले बताए। नेपालले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई नै ब्युताएपछि पार्टी पुरानै अवास्थामा फर्किएको पनि बताएका छन्।
“पूर्व एमाले ब्युँतिनु भनेको पुरानो संगठन फेरि ब्युँताउनु हो, आज पार्टीभित्र विवाद भइरहेको कुरा त्यही हो। पूर्व एमाले ब्युँतिएपछि कहाँ, कुन मितिमा सुरु हुन्छ? आज पार्टीमा सबैभन्दा ठूलो विवाद त्यही छ। केपी ओली त्यको कुरा मान्न तयार हुनुहुन्न।”,उनले भने।

