काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा शक्तिशाली बन्ने गरी विधान संशोधन गरेका छन् । विशेषगरी संसदीय दलमा दलको नेता नै सर्वशक्तिशाली हुने गरी विधान संशोधन गर्न सफल भएका हुन् । विधान संशोधनसँगै अब दलको नेताले समानुपातिक सांसदको भविष्य निर्धारण गर्ने र दल भित्रका सबै पदमा मनोनयन गर्ने अधिकार पाएको छ । विधान संशोधनसँगै समानुपातिक सांसद राख्न र हटाउन सक्ने अधिकार दलको नेतालाई दिएको छ । बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको छलफलपछि अध्यक्ष ओलीलाई समानुपातिक सांसद राख्ने र हटाउने अधिकार दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
‘संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार अध्यक्ष एंव प्रधानमन्त्रीलाई दिइएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । सांसद बनेपछि दलकै नेताविरुद्ध प्रयोग हुने सम्भावना बढेर गएकाले समानुपातिक सांसदलाई दलप्रति बफादार बनाउनका लागि अधिकार प्रत्योजन गरिएको ति नेताको भनाई छ । यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि ओलीलाई दिइएको छ ।
केन्द्रीय कमिटीले संसदीय दलको बैठकले संशोधन गरी पठाएको विधानलाई पारित गरेको छ । एमाले दलको विधान २०७२ लाई संशोधन गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार अब दलको नेता प्रतिनिधिसभाका सदस्यहरुले मात्र निर्वाचित गर्नेछन् । यसअघि राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यले मतदान गरेर दलको नेता छान्न सक्ने व्यवस्था थियो ।
एमालेका मुख्य सचेतक भट्टराईका अनुसार दलको विधान परिमार्जनसहित पारित गरिएको हो । ‘एमाले संसदीय दलको विधान संशोधन सुझावसहित पारित भयो । अब २९ सदस्यीय बोर्डको गठन हुने भयो । त्यसमा एक तिहाइ महिला सदस्य रहनुहुनेछ’, उनले भने । नयाँ विधानअनुसार दलको नेताले सांसदहरूलाई कारबाही गर्ने अधिकार दिइएको छ । भट्टराईले भने, ‘दलको नेतालाई स्पष्टिकरण सोध्ने अधिकार दिइएको छ । कुनै सदस्यले पार्टी, संसदीय दल र मुलुकको हितविरुद्धमा गतिविधि गरेको दलको नेतालाई लागेमा स्पष्टिकरण सोध्ने र कारबाही गर्ने व्यवस्था संशोधित विधानमा व्यवस्था गरिएको छ ।’
यस्तै, दलको उपनेता, मुख्य÷प्रमुख सचेतक, सचेतक, राष्ट्रियसभामा दलको नेता र सचेतक संसदीय दलको नेताले मनोनीत गर्ने उल्लेख छ । यसअघि दलको उपनेता पनि चयन गर्ने गरिन्थ्यो । संसदीय दलको बोर्डमा अब कम्तिमा एकतिहाइ महिला अनिवार्य गरिएको छ । दलको बोर्डको सचिवको काम मुख्य÷प्रमुख सचेतकले गर्ने पनि विधानमा समेटिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकमा उपाध्यक्ष समेत रहेका बामदेव गौतम पनि सहभागी रहेका थिए । यसअघिको बैठक बहिष्कार गरेका उनी शनिवारको बैठकमा भने उपस्थित भएका हुन् । राष्ट्रिय सभाका सदस्य रहेका गौतमले एमाले पुनःस्थापित भएकोमा आफुलाई खुशी लागेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखे । बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सो समुहका सांसद उपस्थित थिएनन् । तर, उनि पक्ष केही सांसद भने आएर ओलीको पक्षमा खुलेका छन् ।