सेभियाका गोलरक्षकले अन्तिम समयमा गरे उत्कृष्ट गोल ! [भिडियो सहित]

एजेन्सी – गोलरक्षक यासिन बोनोले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि ला लिगा अन्तर्गत स्पेनिस क्लब सेभिया शनिबार रियल भालाडोलिडविरुद्ध हारबाट जोगिएको छ ।

खेलमा १-० ले पछि परेको अवस्थामा अन्तिम मिनेटमा कर्नर पाएपछि बोनो अघि बढेका थिए । कर्नरमा आएको रिबाउन्डलाई भालाडोलिडका खेलाडीले राम्रोसँग क्लियर गर्न नसक्दा बोनोले गोल गरेका थिए । युसुफ एन नेस्रीको क्रस जुलस कुन्डेलाई लाग्दै आएपछि बोनोले गरेको प्रहार गोलमा परिणत भएको थियो । उक्त गोलपछि खुसियाली मनाउने क्रममा जर्सी खोल्दा उनले पहेंलो कार्ड पाएका थिए ।

खेलमा भालाडोलिडका लागि फाबियन ओरेलानाले अग्रता दिलाएका थिए । उनले पहिलो हाफको ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । यस बराबरीले सेभिया २८ खेलमा ५५ अंक जोड्दै चौथो स्थानमा यथावत छ । बार्सिलोनाभन्दा १ खेल बढी खेलेको टोली ४ अंकले पछि छ । भालाडोलिड भने २७ अंकसहित १६ औं स्थानमा छ ।

ला लिगामा यस सिजन गोलरक्षकले गोल गरेको त्यो दोस्रो अवसर हो । यसअघि जनवरीमा आइबारका मारको डिमीट्रोभिचले पेनाल्टीमा गोल गरेका थिए । लिगको एकै सिजनमा दुई गोलरक्षकले गोल गरेको यो सन् १९८७ पछि पहिलो पटक हो । सेभियाका लागि भने यसअघि सन् २००६-०७ मा आन्द्रे पालोपले युरोपा लिगमा शाख्तारविरुद्ध गोल गरेका थिए ।

https://twitter.com/abochie_/status/1373412061791846401

प्रकाशित : आइतबार, चैत ०८, २०७७१४:४०

“यो पाली त सलाह रामोसको छेउछाउ पनि जाने हिम्मत गर्दैनन्”