पछिल्लो दशकको सबैभन्दा उत्कृष्ट युरोपियन क्लबको टप १० को सूची सार्वजनिक भएको छ। आइएफएफएचएसले जारी गरेको सूचीमा चिर-प्रतिद्वन्दी रियल म्याड्रिडलाई पछि पार्दै स्पेनिस क्लब बार्सिलोना पहिलो स्थानमा रहेको छ।
इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टेटिक्सटिक्सले प्रदान गरेको अंकको आधारमा यो सूची जारी गरिएको हो। गत १० वर्षको हरेक टिमको महाद्वीपीय अंक जोडेर निकालिएको अन्तिम नतिजामा लियोनल मेस्सीको बार्सिलोना (२८७७) रियल म्याड्रिड (२७८२) भन्दा अघि रह्यो।
२०१० देखि २०२० को समयमा रियल म्याड्रिड (४) ले बार्सिलोना (२) को तुलनामा बढी च्याम्पियन्स लिग उपाधि जितेपनि यस सूचीमा बार्सिलोना रियल भन्दा अगाडी देखिनु धेरैको लागि अचम्मको कुरा नहुन सक्छ। यस समयमा बार्सिलोनाले रियलको तुलनामा दोब्बर ललिगा उपाधि जित्न सफल भयो। रियलले ३ पटक स्पेनिस लालिगाको उपाधि जित्दा बार्सिलोनाले ६ पटक उपाधि हात पार्यो।
प्रिमियर लिगबाट अग्रस्थानमा रहन सफल दुई क्लब: चेल्सी र म्यानचेस्टर सिटीको भने बराबर अंक रहेको छ। म्यानचेस्टर युनाइटेड भने यी दुई क्लब भन्दा एक स्थान तल ९ औं स्थानमा रहेको छ।
गत केहि सिजन उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल भने टप १० मा पर्न सफल भएन। सूचीमा बार्यन म्युनिख तेस्रो स्थानमा रहन सफल भयो भने फ्रेन्च च्याम्पियन पीएसजी चौंथो स्थानमा रहनु धेरैको लागि आश्चर्यजनक रहन सक्छ।
यस्तो रहेको छ युइएफए टप १० टिम अफ डिकेड
१०. आर्सनल (२०१६ अंक)
९. म्यानचेस्टर युनाइटेड (२०२० अंक)
८= म्यानचेस्टर सिटी (२११३ अंक)
८= चेल्सी (२११३ अंक)
६. युभेन्टस (२२७२ अंक)
५. एथलेटिको म्याड्रिड (२३०२ अंक)
४. पीएसजी (२३५७ अंक)
३. बार्यन म्युनिख (२५९४ अंक)
२. रियल म्याड्रिड (२७८२ अंक)
१. बार्सिलोना (२८७७ अंक)