सार्वजनिक बिदा थप्ने सरकारको निर्णय ! कहिले-कहिलेको बिदा थपियो ? [सूची सहित]

काठमाडौँ – सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।

विभिन्न जनजातिले आफूहरूको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

अन्य बिदा यथावत्
अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबारबाहेक १ वैशाखमा नयाँ वर्षको बिदा हुनेछ । त्यस्तै, महाशिवरात्रि र फागुपूर्णिमामा दिँदै आइएको मुलुकभरि बिदा कायमै राखिएको छ ।

आगामी वर्ष असोजको अन्तिम साता दसैँ छ । २६ असोजमा फूलपाती, २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी छ । दसैँको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।

तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुनेछ । १८ कात्तिकमा लक्ष्मीपूजा, १९ कात्तिकमा गोरु तिहार र २० कात्तिकमा भाइटीका छ । २१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय दिवसअन्तर्गत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पनि बिदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, विश्व मजदुर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको देशव्यापी बिदा कायमै छ । जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सार्वजनिक बिदा हुनेछ ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७०७:३६

अब बैंकहरुले ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न पाउने !