काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
पछिल्ला गतिविधि र धारणा हेर्दा कांगे्रसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए । ‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले राजधानीसँग भने ।
बैठकमा आगामी १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवरण विषयमा मात्रै छलफल भएको नेता रमेश लेखक बताउ“छन् । बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभएको पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको उनले बताए ।
‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ नेता लेखकले बैठकपछि पत्रकारसँग भने । बैठकमा कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताबारे भएको प्रगतिबारे नेतृत्वलाई जानकारी गराएको छ । लेखक समिति संयोजक हुन् ।
लेखकले सोमबारसम्म ६९ जिल्लाले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण विवरण अनलाइन प्रणालीमा राख्न सुरु गरेको जानकारी दिए । कांग्रेसले यसपटकदेखि सदस्यता विवरण जिल्लाबाटै अनलाइन प्रणालीमा राख्न सकिनेगरी व्यवस्था मिलाएको छ ।
संयोजक लेखकका अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण विवरण अनलाइन प्रणालीमा राख्न सुरु गरिसकेका छैनन् ।