नाकाबाट भित्रिने भयो कोरोनाको दोस्रो लहर !

भैरहवा — भारतमा कोरोना संक्रमण बढिरहेका बेला सिधै सम्पर्क भएका लुम्बिनी प्रदेशका मूल नाकाहरूमा सतर्कताबिनै मानिसको बेपरवाह आउजाउ चलिरहेको छ । यसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरूले विश्लेषण गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

संक्रमणबाट जोगिन न्यूनतम स्वास्थ्य मापदण्डबिना नाकाबाट ओहोरदोहोर गर्ने सर्वसाधारणको लाम छ । स्थानीय सरकार र प्रशासनले सावधानी अपनाउन चासो दिएका छैनन् भने सर्वसाधारण मास्कबिना यात्रा गरिरहेका देखिन्छन् ।

स्थलमार्ग हुँदै सर्वाधिक यात्रुको आवागमन हुने सुनौली–बेलहिया सीमा नाकामा नेपाल–भारततर्फ आवतजावत गर्ने हूलका हूल मानिसको दृश्य बिहानैदेखि राति अबेरसम्म देख्न सकिन्छ । पछिल्ला दिनमा यस नाकाबाट सर्वसाधारणको आवागमन बढ्न थाले पनि संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि अधिकांशले स्वास्थ्य सुरक्षा अपनाएका छैनन् । सिमानाबाट आवतजावत गर्दा न मुखमा मास्क अनिवार्य गरिएको छ, न त सेनिटाइजरको प्रयोग । सीमा नाकामा हेल्प डेस्क छ, तर स्वास्थ्यकर्मी भेटिँदैनन् । ‘यहाँ आउजाउ गर्ने सबैको नाम र विवरण लेखिसाध्य नै हुँदैन,’ सिमानामा रहेको हेल्प डेस्कमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘भारतबाट धेरै दिनपछि नेपालतर्फ आएका व्यक्तिको मात्र नाम र विवरण लिने गरेका छौं ।’

भारतीय सुरक्षा निकायले भने राति १० बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि नाकामा रोक लगाएको छ । यताबाट जानेलाई सिमानामा लाइन लगाएर ‘वाक थ्रु’ मेसिनबाट सुरक्षा जाँच गरेपछि परिचयपत्रका आधारमा भारत प्रवेश गर्न अनुमति दिने गरिएको छ । सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले साना सवारीसाधनबाहेक सीमा नाकाबाट दोहोरो आवागमनको भीड बढ्दै जान थालेको बताए । किनमेलका लागि सुनौली बजार पुग्ने नेपाली उपभोक्ता, नेपालमा मजदुरी गर्न आउने भारतीय मजदुर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थी, उपचारका लागि दुवै देशतर्फ आवतजावत गर्ने व्यक्तिहरूको भीड देखिन्छ ।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७०८:५०

कमिसनमा सिआइबीको ध्यान !