काठमाडौँको बौद्ध परिसरमा अब टिकटक खिच्न नपाइने भएको छ । टिकटकको नाममा होहल्ला गर्ने, मोबाइलमा चर्को आवाजमा गीत-संगीत बजाउने र जथाभावी उफ्रदैँ हिड्न थालेपछि श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबार देखि सूचना बोर्ड राखेर भिडियो खिच्न निषेध गरेको हो।
शान्तिपूर्ण वातावरणमा रम्न चाहने प्राय मानिसहरु सामाजिक सञ्जाल र जमघटबाट टाढा हुँदै बौद्ध, स्वयम्भू, पशुपतिनाथ लगायत धार्मिक ठाउँमा पुग्ने गर्छन्। तर पछिल्लो समय टिकटकको कारण शान्तपुर्ण वातावरण विथोलिदै गएको छ।
धार्मिक एवम् शान्तिपूर्ण क्षेत्रमा दिनानुदिन टिकटकको कारण हो-हल्ला र भिडभाड बढ्दै गएपछि आगन्तुकहरुलाई डिस्टर्भ भएको बताइएको छ । यधपी बौद्ध परिसरभित्र फोटो र भिडियो भने शान्तिपूर्ण हिसाबले खिच्न पाइन्छ।
बौद्ध परिसरमा टिकटक प्रयोगकर्ताहरुले बौद्ध धर्मावलम्बिलाई पूजापाठ गर्न र धर्मचक्र घुमाउन समेत अवरोध गरेको कारण समितिले स्थानीय बासिन्दा र प्रहरीसँगको सहकार्यमा सूचना बोर्ड नै राखेको छ। जसमा लेखिएको छ, ‘यस विश्व सम्पदा क्षेत्रभित्र टिकटक भिडियो खिच्न मनाही छ, अन्यथा नेपाल सरकारको नियमअनुसार कारवाही हुनेछ।’